Sunday, December 9, 2018

बाबुराम-हिसिला पुत्रीमाथि बनेको 'डटर अफ नेपाल'ले भारतमा जित्यो अन्तराष्ट्रिय पुरस्कार

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई तथा पूर्व मन्त्री हिसा यमीकी छोरी मानुषी यमी भट्टराईमाथि बनेको डकुमेन्ट्री फिल्म 'डटर अफ नेपाल'ले भारतको सातौं स्मिता पाटिल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट डकुमेन्ट्री फिम अवार्ड जितेको छ।
फिल्मलाई भारतकी सुरभी दिवानले बनाएकी हुन्। फिल्मले ९० को मध्य दशकमा मानुषीका बाबुआमाको १२ वर्ष लामो जनयुद्धमा जाने निर्णयले भारतमा ९ वर्षिया मानुसीले नयाँ नाममा बिताएका समयहरू र तिनले उनीमा पारेको प्रभाव र भोगाइहरूलाई प्रस्तुत गरेको छ।
सो डकुमेन्ट्री फिल्मले जनयुद्धको नदेखिएको पाटो र उनको पारिवारिक, सामाजिक तथा देशप्रतिको मायालाई फिल्ममा प्रस्तुत गरेको छ।
यस डकुमेन्ट्री फिल्मलाई ९ वर्ष लगाएर तयार गरिएको हो। अवार्ड जितेकी देवानले सुरूमा मानुषी क्यामरासँग सहज नहुँदा आफूले फिल्म निर्माणका लागि शैली परिवर्तन गर्नुपरेको बताएकी छन्। उनले फिल्म निर्माण गर्दा सहज वातावरण बनाउनुपर्ने भएकाले फिल्ममा आफू पनि मानुषीसँगै देखिनुपरेको आफ्नो निर्देशकिय नोटमा उल्लेख गरेकी छन्।


दिवानले डकुमेन्ट्री बनाउँदा (मानुषी जसलाई भूमिगत कालमा अस्मिता नामको परिचय दिइएको थियो) काठमाडौं देखी गोर्खासम्म क्यामराले पछ्याएको खुलासा गरेकी छन्।
उनले फिल्मलाई मानुषी नेपाल फर्किएको दुई वर्षपछि छायाँकन गरेको पनि नोटमा जनाएकी छन्।
पुरष्कार पाएको कुराले छक्क परेंः मानुषी
यसैगरी आफूमाथि बनेको फिल्मले पुरस्कार पाएको कुराले छक्क परेको  प्रतिक्रिया मानुषीले सेतोपाटीलाई बताएकी छन्। उनले डकुमेन्ट्री बनाउने कुरा सुन्दा त्यतिबेला असहज महशुस गरेको बताइन्।
'१२ वर्ष अगाडीको कुरा हो। त्यतिबेला जनयुद्धमा म भन्दा बढि संघर्षशील पात्रहरू थिए फिल्मका हिसाबले। सोही कारणले गर्दा मैले उहाँलाई त्यो फिल्म सार्वजनिक गर्न अनुमति पनि दिइन', उनले भनिन्, 'तर अहिलेचाँहि उहाँमाथि अन्याय गरेजस्तो लाग्छ। किनकी त्यसपछि उहाँले अरू फिल्महरू बनाउनुभयो। ती फिल्म हेर्दा मलाई त्यस्तो लागेको हो। पछि बिचमा फेरि अनुरोध गर्नुभयो र मैले अनुमति दिएँ।'
यस्तै मानुषीले फिल्ममेकर दिवान र आफू एउटै कलेज पढेको पनि बताइन्। कलेज पढ्दासम्म आफू को हूँ भन्ने दिवानलाई थाहा नभएको पनि खुलासा गरिन्।
'श्रीराम कलेजमा उहाँ म भन्दा एक ब्याच सिनियर हो। जब म नेपाल फर्किएँ तबमात्र उहाँले म को हूँ भनेर चिन्नु भयो। हाम्रो परिचय सो कलेजका एकअर्कासँग अभियानकर्ताका रूपमा थियो। उहाँले मलाई अस्मिताका रूपमा मात्रै चिन्नुहुन्थ्यो।म नेपाली हूँ भन्ने उहाँलाई थाहा थिएन।'
त्यस्तै मानुषीका अनुसार दिवानले यो फिल्म आफ्नो थेसिसका लागि बनाएकी हुन्। मानुषीले बनेको वर्ष नै आफूले इन्डिया ह्याबिट्याट सेन्टर, याँ दिल्लीमा फिल्म हेरेको र अहिले सो फिल्म थप परिस्कृत बनेको बताइन्।


छोरीमाथी बनेको डकुमेन्ट्री फिल्मले पुरस्कार जितेकोमा डा. बाबुराम भट्टराईले ट्वीटरमा फिल्म निर्माता तथा निर्देशकलाई ट्वीटरमा बधाई सिएका छन्।


Wednesday, December 5, 2018

कस्ता थिए स्वर सम्राट ‘नारायणगोपाल’ ?


म्यूजिक खवर
प्रकाशित: १९ मंसिर २०७५, बुधबार

नारायणगोपाल’ ले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा ‘नारायणगोपाल’ नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाड कन्दरा र तराइका घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् ।
एउटा मान्छेको मायाले कति फरक पर्द छ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पर्द छ जिउनुमा ।
नारायणगोपाल प्रसिद्ध सितारवादक आशागोपाल गुरुवाचार्य तथा रामदेवी गुरुवाचार्यका सुपुत्रका रूपमा काठमाडौँको किलागलमा १९९६ साल असोज १८ गते जन्मेका थिए ।
नारायणगोपालले सानैदेखि सङ्गीतमा रुचि राखे । आफ्ना बाबु सङ्गीतका साधक भएको हुँदा नारायणगोपाललाई सानै देखि सङ्गीतमा पिङ मच्चाउने वातावरण पैदा भएको थियो । त्यसै वातावरणमा नारायणगोपालको सङ्गीतप्रतिको मोह, परिश्रम र लगनशीलता हुर्कंदै , झाङ्गिदै र मौलाउँदै जान थाल्यो । उनी शास्त्रीय सङ्गीतमा आराधना गर्दै जान थाले । त्यसपछि उनले क्रमशः शास्त्रीय र आधुनिक सङ्गीतमा सँगसँगै पाइला चाल्न थाले । परिणामस्वरूप उनले सर्बप्रथम रेडियो नेपालको स्टुडियोमा २०१७ सालमा एउटा आधुनिक गीत रेकर्डिङ गराए ।
स्वर्ग की रानी मायाकी खानी नजाऊ तर्के र
लाजै नमानी रिसाउने बानी छाडी आऊ फर्के र ।
नारायणगोपाल नेपाली आधुनिक गायनका महेश्वर थिए, उनी आधुनिक नेपाली गायनका शिखर थिए र उनी पृथ्वीमा सबै भन्दा मीठो नेपाली गीत गाउने साधक थिए । उनले जीवनको सबै भाग नेपाली सङ्गीतको उत्थान, विकास र समृद्धिमा चढाएका थिए । उनले नेपाली आधुनिक गीतलाई देशदेशान्तरमा पुर्‍याएका थिए । संसारमा जहाँजहाँ नेपाली बस्छन् त्यहाँत्यहाँका नेपालीले नारायणगोपालका मधुर, कर्णप्रय र सुमधुर स्वर सुन्ने गर्छन् । उनी नेपाली स्वरका एउटा प्रतिनिधि गायक थिए, सर्वा्धिक लोकप्रिय गायक थिए र ओजस्वी स्वरलहरीका गायक थिए । उनको स्वरमा जादु हुन्थ्यो । त्यसैले उनले गाएपछि जुनसुकै गीत पनि उच्चकोटिको हुन्थ्यो । वास्तवमा उनी शब्द चुनीचुनी गीत गाउँथे । उनी गीत गाउँदा जनभाका गाउँथे । त्यसैले उनका गीत श्रोताहरूले अत्यधिक मन पराए ।
आँखा छोपी नरोऊ भनी भन्नुप¥या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नुप‍¥या छ ।
नारायणगोपाल एउटा संवेदनशील सङ्गीतकार पनि थिए । उनले आफ्ना सङ्गीतमा पनि गीत गाए । केही वरिष्ठ गायकहरूले पनि उनीद्वारा सङ्गीतबद्ध गीत गाएका थिए । त्यतिमात्र होइन उनी सङ् गीतबारे लेखरचनाको निर्माण पनि गर्थे । उनले ‘बागीना’ (बाजा, गीत, नाच) त्रैमासिक पत्रिकाको पनि सम्पादन गरे । साथै उनी प्रशासनमा पनि रहे । अथवा भनौँ उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक पनि भए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ललितकला क्याम्पसमा सङ्गीतविषयमा प्राध्यापन पनि गरे । तर उनी चाहिँ स्नातक परीक्षा मात्र उत्तीर्ण गरेका थिए । ‘पढेर भन्दा परेर जानिन्छ’ भन्ने लोकोक्तिका उनी पनि एउटा नमुना थिए । त्यसैले उनले शैक्षिक प्रमाणपत्रको भन्दा व्यावहारिकतामा आधारित ओजपूर्ण काम गरे । उनी आफ्नो श्रुतिमधुर स्वरका कारणले ‘स्वरसम्राट’मा रूपान्तरित भए । नेपाली संसारमा उनको स्वर एउटा अपरिहार्य आविष्कार बन्यो ।
आजै र राति के देखेँ सपना मै मरिगएको
बतासबिना हाँगाको फूल भै झरिगएको ।
नारायणगोपाल नेपाली माटोमा एउटा होनहार प्रतिभा थिए । उनका लागि देशदेशान्तरका नेपाली पनि एउटै थिए । उनी जातीयतालाई समेत नेपालीत्वमा टयाप्पै बाँध्ने हिम्मती पुरुष थिए । त्यसै ले उनले दार्जी्लिङकी पेमला लामासँग प्रेमविवाह गरे । एउटा कट्टर नेवार परिवारमा हुर्के का नारायणगोपाले २०२६ सालमा पेमला लामासँग हार्दिकताका साथ लगनगाँठो कसेका थिए । नेपाली साङ्गीतिक आकाशमा नारायणगोपाल एउटा अद्वितीय व्यक्तित्व थिए । उनी प्रस्ट व्यवहारका लखपति थिए । उनी मनमा कुरा लुकाउँदैनथे र भन्नुपर्ने कुरा प्याच्चै भनिदिन्थे । उनी नेपाल र नेपालीत्वप्रति सारै गर्व मान्थे । उनी राष्ट्रभाषा, राष्ट्रिय पोसाक र राष्ट्रिय नीतिका कट्टर पक्षपाती थिए । उनी अशिष्ट र छोटो प्रवृत्तिका मान्छेलाई पटक्कै पन पराउँदैनथे । उनी स्वयं सहृदयी, मिलनसार र सृजनशील थिए । उनी गायनका एउटा आदर्श प्रतिमूर्ति थिए । त्यति मात्र होइन उनी आफ्नै सङ्गीतमा भाका मिलाई मिलाई गीत गाउने सफल गायक थिए ।
दुइटा फूल देउरालीमा साथै राख्यौ जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिँडयौ जस्तो लाग्छ ।
‘नारायणगोपाल’ ले २०२३ सालको प्रतियोगितात्मक आधुनिक सङ्गीतसम्मेलनमा सर्वोत्कृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेका थिए । उनले २०२४ सालमा गायनमा सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेका थिए । अनि यो क्षण उनको जीवनको एउटा चिरस्मरणीय सुखद घटना थियो । साथै उनी नेपाली सङ्गीत र स्वरका माध्यमबाट उत्कृष्टताको चुचुरोमा पुगेवापत रत्न रेकर्डिङ पुरस्कार, इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता गीत पुरस्कार, प्रबल गोरखादक्षिणबाहु र विख्यात त्रिशक्तिपट्टबाट सम्मानित र विभूषित भए ।
नारायण गोपालले गायनका सिलसिलामा नेपालका विभिन्न जिल्लाहरूका अतिरिक्त भारत, बङ्गलादेश, बर्मा, चीन, थाइल्यान्ड, हङकङ, सोभियतसङ्घ, उत्तर कोरिया र पूर्व जर्मनी आदि मुलुकहरूको पनि भ्रमण गरेका थिए । उनी केवल गायक मात्र भएर देशविदेश घुमेनन् । उनी एउटा उच्च बौद्धिक व्यक्तित्व पनि थिए । उनी मुलुकको राजनीतिक, सामाजिक र आर्थिक पक्षको पनि गहिरो अध्ययन, विश्लेषण र चिन्तन गर्ने गर्थे । नारायणगोपालले आफ्नो योग्यताले नै गीतका सारा पारखीलाई रिझाएका थिए । आफ्नो मीठो स्वर प्रस्तुत गरेर नै यी सबैका आफन्त भएका थिए । त्यसैले यिनले पनि आफ्ना श्रोताहरूलाई धूमधाम मन पराए । यिनले ठूलालाई मन पराए, सानालाई मन पराए र आफ्नी प्रेयसीलाई झनै मन पराए ।
चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ
नदेखे पनि भेट सधैँसधै भए झै लाग्दछ ।
‘नारायणगोपाल’ ले रेडियोमा मात्र गीत गाएनन् । उनले नेपालका विभिन्न ठाउँहरूका सङ्गीतप्रेमीहरूका माझमा उभिएर पनि गीत गाए र विदेशमा रहेका नेपालीहरूका सामुन्ने पुगेर पनि गीत गाए । उनले जीवनमा थुप्रै आधुनिक गीत गाए थोरै लोकगीत र केही नेवारी गीत पनि गाए । तर उनले जति गीत गाए अत्यन्तै राम्राराम्रा मात्र गाए । उनी गीत गाएर यस धर्तीका अविस्मरणीय प्रतिभा बने । उनको नेपाली सङ्गीतप्रतिको लगावले गर्दा उनी नेपाली सङ्गीतका विभूति बने । उनको शेषपछि राष्ट्रिय युवा सेवा कोषबाट उनका नाउँमा नारायणगोपाल युवा पुरस्कार स्थापित भयो । सो पुरस्कार हरेक वर्षउत्कृष्ट सङ्गीतकर्मीहरूले पाउन थाले । साथै नेपाल सरकारबाट उनको चित्र अंकित हुलाक टिकटको पनि निर्माण भयो ।
नारायणगोपाल अत्यन्तै हक्की, झवाँक्की र स्वाभिमानी थिए । उनी प्रस्ट व्यवहारका धनी थिए । उनका मनमा, मस्तिष्कमा र व्यवहारमा नेपालको गहिरो छापा लागेको थियो । उनका लागि यो नेपाल नै विश्व थियो । उनले नेपाली भाषामा करिब एक सय पच्चीसवटा गीत गाए । गीत गाउँदागाउँदै नारायणगोपालले २०४७ साल मङ्सिर १९ गते आफ्नो जीवनलाई परलोक पु¥याए । तर उनी यस जगत् मा सधैँ श्रद्धेय, माननीय र चिरञ्जीवी छन् । उनी यही नेपाली माटोमा सधैँ बोलिरहेका छन्, उनी यही नेपाली धरातलमा सधैँ बाँचिरहेका छन् र उनी यही नेपाली साङ्गीतिक बगैँचामा स्वरसम्राट् भएर नै सधैँ गुञ्जिरहेका छन् ।
यो सम्झिने मन छ म बिर्सू कसोरी
तिमी नै भनिदेऊ ए जाने निठुरी ।
-नरेन्द्रराज प्रसाईं
https://www.youtube.com/watch?v=Oc75tBfBNkY&t=439s